युनाइटेड टेक क्लबको आयोजनामा तथा युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रियस्तरको प्राविधिक कार्यक्रम ‘युनाइटेड टेक फ्युजन २०८२’ आयोजना हुने भएको छ ।
सिभिल, कम्प्युटर, आईटी , विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, तथा कलेजभित्र विभिन्न तालिम र कार्यशालाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
यस वर्षको युनाइटेड टेक फ्युजन यही माघ १२ र १३ गते आयोजना हुनेछ । कार्यक्रममा देशभरका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप प्रदर्शन गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष रिकम रिजालले बताएका छन् ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा प्रोजेक्ट प्रदर्शन (प्रोजेक्ट प्रदर्शनी) र रोमाञ्चक रोबो रेस समावेश छन् । प्रतियोगिताका लागि कुल पुरस्कार राशि रु ६० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रोजेक्ट प्रदर्शनतर्फ ३५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यसैगरी रोबो रेस प्रतियोगिता तर्फ २५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । कार्यक्रमको दर्ता प्रक्रिया खुला भइसकेको छ । आयोजकका अनुसार, प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम चितवन क्षेत्रकै एक महत्वपूर्ण राष्ट्रियस्तरीय प्राविधिक उत्सव बन्ने अपेक्षा गरिएको छ ।






