गैँडाकोट महोत्सवमा आज पुष्कल शर्मा आउँदै

नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित कलाकर पुष्कल शर्मा आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवमा आज शुक्रबार चर्चित कलाकार पुष्कल शर्मासहित कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहने छ । पुस २५ देखि सुरु भएको महोत्सव आज १५ औँ दिनमा सञ्चालन हुँदैछ । महोत्सवको करिब दुई लाख दर्शकले अवलोकन गरिसकेका महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ ।

संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यानसहित २५० बढी स्टल रहेको जानकारी दिए । १६ दिनसम्म सञ्चलन हुने महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पाण्डेको भनाइ छ ।

महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक पाण्डेको भनाइ छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै पाण्डेले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

सेयर गर्नुहोस्