प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ-आफ्नो आसनबाट उठेर भनाइ राख्न सभामुखसँग समय माग गरे।
यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए। अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनले प्रधानमन्त्री बालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुम्बासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए।सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गरेका थिए। सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो।






