रौतहट : विषादीको रुपमा हरेकको भान्छामा हरियो तरकारी पुगिरहेको अवस्थामा अब फलफूलले समेत प्रवेश पाएको छ । पाक्ने समय अगावै फलहरूको राजा मानिने आँपले समेत प्रवेश पाएको छ । रौतहटका मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिएको रासायनिक पदार्थ कार्बाइड प्रयोग गरेर सिजन अघावै पकाइएका आँप खुलेआम बिक्री वितरण हुँदा समेत नियामनकारी निकाय मौन बसेको छ ।
खुल्ला सिमाको फाइदा उठाउँदै व्यापारीहरूले बढी नाफा कमाउन र समय अगावै आँप पकाउनका लागि यस्ता रासायनिक विषादीहरूको प्रयोग गरिरहेका छन्। जिल्लाका चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया र शिवनगरमा संचालित घुम्ती पसलहरूले निर्वादरुपमा विषादीयुक्त आँप बेचिरहेका छ्न् । चन्द्रनिगाहपुरका स्थानीय बिमल उप्रेतीका अनुसार उपभोक्ता विषादीयुक्त आँप खान बाध्य छ्न् ।
भारतीबाट आउने यस्ता बेसिजनी आँप नियन्त्रण बाहिर हुने गरेको स्थानीय सन्तोश पौडेल बताउँछन्। नेपालमा स्थानीय आँप पाक्ने समय असार महिना मात्र हो। तर, जिल्लाका सबै मुख्य चोक र हाटबजारमा जेठ महिनामै पाकेका पहेँला आँप पाइनुको मुख्य कारण सीमावर्ती भारतीय बजारबाट सस्तोमा ल्याई कार्बाइड हालेर जबरजस्ती पकाएर बेचिनु रहेको पौडेल बताउँछ्न् ।
प्रशासन कार्यालय,नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चले बजारमा आकस्मिक अनुगमन तीव्र नबनाउँदा व्यापारीहरूले बढी नाफा कमाउन जनस्वास्थ्यमाथि खेलबाड हुँदा समेत कसैले आफ्नो काम,कर्तव्य पूरा नगरेको आरोप नागरिक समाजको छ ।
चन्द्रपुर अस्पतालका प्रमुख,डाक्टर सुभाष चौधरीले विषादीयुक्त वा कार्बाइड हालेर पकाइएको आँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न जाने बताउँछन्। तत्काल र दीर्घकालीन रूपमा यस्ता विषादीयुक्त फलफूल खादा स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन सक्छन्। सकभर विषादी हालेर पकाइएको फलफूल खादै नखाएमा स्वास्थ्यका लागि राम्रो हो,झयसले कलेजोदेखि किड्नीमा असर गर्छ,’डा.सुभाष भन्छन्।






