तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई गाजा क्षेत्रमा आफ्नो नियन्त्रण ७० प्रतिशतसम्म विस्तार गर्न निर्देशन दिएका छन् । बिहीबार आयोजित एक सम्मेलनमा बोल्दै उनले हाल इजरायलले गाजाको ६० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको दाबी गरे । ‘अहिले हामीले हमासलाई खुम्च्याइरहेका छौँ । हामी पहिले ५० प्रतिशतमा थियौं, अहिले ६० प्रतिशत पुगेका छौँ । मेरो निर्देशन अब अघि बढ्नु हो ,’ उनले भने ।
‘एकेक पाइला गरेर अघि बढौं । सबैभन्दा पहिले, ७० प्रतिशत । यसको लागि काम सुरु गरौँ ।’ उनले भने । नेतन्याहुको यो अभिव्यक्तिले सन २०२५ अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र हमासबिच भएको युद्धविराम सम्झौताका सर्तसँग विरोधाभास छ । युद्धविराम लागू भएयता पनि गाजामा इजरायली आक्रमण जारी छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबरदेखि हालसम्म कम्तीमा ७३८ प्यालेस्टिनी मारिएका छन् । संयुक्त राष्ट्रसंघले उक्त तथ्यांकलाई सामान्यतया विश्वसनीय मान्ने गरेको छ ।
सम्झौताअनुसार इजरायली सेना पेहेँलो रेखा भनिने सीमारेखासम्म फिर्ता हुने सहमति भएको थियो । तर नेतन्याहुले सार्वजनिक रूपमा आईडीएफले ६० प्रतिशतभन्दा बढी भूभाग नियन्त्रणमा लिएको स्वीकार गरेका छन् । शान्ति प्रस्तावअन्तर्गत हमासले निःशस्त्रीकरण गर्ने र इजरायली सेना फिर्ता हुने प्रक्रिया अघि बढ्नुपर्ने भए पनि अमेरिका मध्यस्थतामा भइरहेको अप्रत्यक्ष वार्ता ठप्प अवस्थामा रहेको बताइएको छ ।
यसैबिच, इजरायली रक्षा मन्त्री इजरायल काट्जले सन २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणका सबै योजनाकारलाई समाप्त गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । गाजाबाट स्वेच्छिक आप्रवासन सम्बन्धी योजना पनि उचित समयमा कार्यान्वयन गरिने उनले बताए । इजरायलका दक्षिणपन्थी मन्त्रीहरू इटामार बेन ग्वीर र बेजलेल स्मोट्रिचले गाजाबाट प्यालेस्टिनीहरूको स्वेच्छिक बसाइँसराइ र त्यस क्षेत्रमा यहूदी पुनर्वासको पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । आलोचकहरूले यसलाई जबरजस्ती विस्थापन र सम्भावित युद्ध अपराधको रूपमा हेर्ने गरेका छन् ।
यसै साता गाजामा भएका इजरायली हवाई आक्रमणमा बालबालिकासहित थुप्रै मानिस मारिएका छन् । गाजा सिटीमा बुधबार राति भएको एक आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अस्पतालहरूले जनाएका छन् । उत्तरी गाजामा हमासका दुई प्रमुख सदस्यलाई निशाना बनाइएको भनेर इजरायली सेनाले भनेको छ । उक्त आक्रमणमा हमास बटालियन कमाण्डर इमाद असलीम र उनकी किशोरी छोरी इस्रा मारिएको बताइएको छ । त्यसअघि हमासको सैन्य शाखाका नयाँ प्रमुख मोहम्मद ओदेह आफ्नी पत्नी र दुई छोरासहित इजरायली आक्रमणमा मारिएको समाचार आएको थियो ।






