चितवन — भरतपुर महानगरपालिका–१० स्थित ऐतिहासिक गेष्ट हाउस चौरलाई ‘सहिद मञ्च गेष्ट हाउस चौर’ तथा सँगै रहेको पार्कलाई ‘भरतपुर समन्वय पार्क’ का रूपमा विकास गरिने भएको छ। दुवै संरचनाको विकासका लागि भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा कुल २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
वि.सं. २०१८ सालको जनआन्दोलनका क्रममा तत्कालीन सरकारले दर्जनौँ व्यक्तिलाई गेष्ट हाउस चौरस्थित इनारमा हालेर हत्या गरेको ऐतिहासिक घटनाको स्मरण र सहिदहरूको सम्मानस्वरूप उक्त क्षेत्रको नाम ‘सहिद मञ्च गेष्ट हाउस चौर’ राखिएको हो। सँगै रहेको पार्कलाई ‘भरतपुर समन्वय पार्क’ नाम दिई व्यवस्थित रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।
जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चौर र पार्क भरतपुर महानगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीका अनुसार सहिद मञ्च गेष्ट हाउस चौरको विकासका लागि १ करोड रुपैयाँ र भरतपुर समन्वय पार्कको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ गरी कुल २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।
विनियोजित बजेटबाट सहिद मञ्च क्षेत्रमा जमिन सम्याई तथा उचाइ व्यवस्थापन, प्रवेशद्वारसहितको कम्पाउन्ड, ड्रेनेज प्रणाली, उच्चस्तरीय खेल मैदान तथा व्यवस्थित कार्यक्रम सञ्चालन गर्न मिल्ने मञ्च निर्माण गरिनेछ। त्यस्तै, भरतपुर समन्वय पार्कलाई आधुनिक र सुविधासम्पन्न पार्कका रूपमा विकास गरिने योजना रहेको अधिकारीले जानकारी दिए।
उनका अनुसार परियोजनाको डिजाइन तथा अन्य प्राविधिक तयारीको कामसमेत अघि बढिसकेको छ।
यसैबीच, नेपाली कांग्रेसका संस्थापक नेता तथा महामानव विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा सोही क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । वृक्षारोपणमार्फत सहिदहरूको सम्मान गर्दै पार्क तथा चौर विकास अभियानको औपचारिक सुरुवात गरिएको अधिकारिले बताए ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा महानगर सभापति चित्रसेन अधिकारीको सभापतित्व तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जरा अभियानका अभियन्ता प्रा. डा. केदारनरसिंह केसी, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायत नेता, बागमती प्रदेशका पुर्व मन्त्री, मन्त्री, जनप्रतिनिधि, कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रम सन्चालन नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका सचिव कृष्ण बगालेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका उपसभापती बुद्दी कान्त न्यौपानेले गरेका थिए ।
वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षणको सन्देश दिनुका साथै बीपी कोइरालाले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई पनि स्मरण गरिएको हो।






