नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ ।
वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नतिसँगै उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन रहेका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वीरगञ्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको झन्डै १८ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ ।
यस्तै पथलैया–परवानीपुर प्रसारण लाइनबाट झन्डै दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झन्डै दोब्बर हुनेछ । हेटौँडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । अरू प्रसारण लाइन तथा सवस्टेसनको काम पनि भइरहेको उहाँले बताउनुभयो ।