नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी विस्तार गर्न ओपेक फण्डलाई आग्रह गरेका छन् ।अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै उनले ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताए ।
अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए ।नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उनको भनाइ थियो।ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको ठूलो सम्भावना रहेको बताए ।
नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्याउने हुँदा जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको जानकारी दिए । त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे।
उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए ।ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फण्डले गरेका लगानीको चर्चा गरेका थिए ।साथै उनले नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ओपेक फण्ड थप लगानी गर्न तयार रहेको जानकारी दिए ।
त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए ।ओपेक फण्डले ग्लोबल आईएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ ।यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।