मृत्युदण्डको सजायबाट बचे नरेश, श्रीमतीको हत्यापछि शव लुकाएको मुद्दा दायर

काठमाडौँ ।

अमेरिकामा बस्दै आएका नरेश भट्टविरुद्ध पत्नीको हत्या गरी शव लुकाएको आरोपमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा प्रहरीले सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो ।

यसअघि प्रहरीले नरेशले पत्नीको हत्या गरी शव लुकाएको आरोप लगाउँदै आएको थियो । तर, ठोस प्रमाण बनाउन नसक्दा ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन ।

घरभित्र भेटिएको रगतको डीएनए परीक्षणको रिपोर्ट ममतासँग मिलेपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो । डीएनए नतिजा आउन लामो समय लागेसँगै उनीविरुद्धको मुद्दा दायर गर्न समय लागेको हो ।

नरेशमाथि ममताको हत्या गरेसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुई वटा मुद्दासमेत दर्ता भएको छ । यी सबै आरोप पुष्टि भए उनलाई आजीवन कारावासको सजाय हुन सक्छ ।

अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुनेछ ।

महिला न्यायाधीशले नरेशमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर भएको जानकारी गराउँदै उनलाई अपराध कबुल गर्न भनेकी थिइन् । हत्याको अभियोग लागेको थाहा पाएसँगै नरेशले दुवै हात पुर्पुरोमा राखेका थिए ।

नरेशमाथि यसअघि प्रहरीले शव लुकाएको कमजोर अभियोग लगाएको थियो । मनासास प्रहरीका प्रमुख मारियो लुगोले पत्रकार सम्मेलन गर्दै यथेष्ट प्रमाण संकलनपश्चात हत्याको मुद्दा दायर भएको जानकारी दिए ।

ममताको शव अझै बेपत्ता रहेको छ । पत्रकार सम्मेलनमा ममताका आमा र भाइ पनि उपस्थित भएका थिए । अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल कलेजमा कार्यरत नर्स ममता गत जुलाईमा बेपत्ता भएकी थिइन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि २२ अगष्टमा नरेशलाई पक्राउ गरेको थियो । उनीहरूको डेढ वर्षकी छोरी छन् ।

सेयर गर्नुहोस्