११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाली काग्रेस चितवन महिला विभागको अन्तरसंवाद

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली काग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रममा आजपनि महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औल्याइयो । संविधानले प्रदत्त गरेका अधिकारहरु पुर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्म सबै महिलाहरु एक भएर ससक्त रुपमा आवाज उठाउनुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा नेपाल बार एशोसियन चितवनका अध्यक्ष अधिबक्ता फुलमाया रानाभाट, अधिकारकर्मी मीना खरेल र ब्रम्हकुमारी प्रतिभा दिदीले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा बोल्दै अधिबक्ता फुलमाया रानाभाटले संविधानले महिलाले घरमा गरेको कामलाई संम्बोधन गरेपनि कार्यान्वयनमा मुल्याकंन हुन नसकेको बताउनुभयो । अहिले समाज विकृत उन्मुख छ, उहाँले भन्नुभयो, अब प्रत्येक अभिभावकले आफ्ना बच्चाहरु कस्तो संगतमा छन् भन्नेतर्फ ध्यान दिनुपर्छ । यसै आर्थिक बर्षमा मात्र चितवनमा झन्डै १६ सय जोडिले सम्बन्ध विच्छेद गरेको तथ्याकं उल्लेख गर्दै उहाँले दैनिक १सय५० बढी युवाहरु लागुऔषधको मुद्धामा अदालतमा आउने गरेको जानकारी दिनुभयो । अहिलेको पुस्ता असमानताको शिकार भएपनि यो पुस्ताले शुरु गरेको समानताको लडाईले भावी सन्ततीलाई सहज हुने विश्वास अधिबक्ता रानाभाटको थियो । सो अवसरमा अधिकारकर्मी मीना खरेलले महिलाहरु सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक सबै प्रकारको हिंसाको शिकार बनिरहेको बताउनुभयो । हामी महिलाका अधिकार र समानताको पक्षमा आवाज उठाइरहेका छौ, उहाँले भन्नुभयो, महिलाहरुको संघर्ष, बलिदान र उपलब्धिहरूको सम्मान गर्दै, एक समावेशी र समान समाज निर्माण गर्ने सबैले प्रण गर्नुपर्छ ।

दिवसीय कार्यक्रमले महिला सशक्तिकरण, शैक्षिक अवसर, स्वास्थ्य, सुरक्षा र समृद्धिको पक्षमा अझ बढी काम गर्न प्रेरित गर्ने उहाँको भनाई थियो । सबै महिला तथा बालिकालाई सशक्त, सम्मानित र समान अधिकारका साथ जीवन यापन गर्नका लागि राजनीतिमा रहेका महिलाहरुको पनि महत्वपुर्ण भुमिका हुने उहाँको भनाई थियो । कार्यक्रममा ब्रह्मकुमारी प्रतिभा दीदीले नैतिक शिक्षा, आध्यात्मिक ज्ञान र जीवनशैलीले सकरात्मक भाव उत्पन्न भई हिंसात्मक कार्य न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली काग्रेस महिला विभाग संयोजक कलावती भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि संघीय सासंद माननीय शान्ती परियार रहनुभएको थियो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सभापति राजेश्वर खनाल, वाग्मती प्रदेश सासंद माननीय, विनु रायमाझि,माननीय माया श्रेष्ठ, माननीय गीता गुरुगं लगायतले नारी दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाका नेता , जनप्रतिनिध तथा आम महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । “सबै महिला तथा बालिकाका लागिःअधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ ११५ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनाइदैछ ।

सेयर गर्नुहोस्