क्यान्सरभित्रको विकृति र विसंगतीका विरुद्धको अधिकारकर्मी र सरोकारवाला एक ठाउंमा

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विरामीहरुलाई फलफुल नरिवलपानी वितरण गरिएको छ । चितवन जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा अस्पतालमा भर्ना भई उपचाररत २ सय बढी विरामीहरुलाइै फलफुल तथा नरिवल पानी वितरण गरिएको हो । विरामीहरुको विषयमा अस्पताल प्रशासन संवेदनशील नबनेको, प्रभावकारी उपचार नभएको, पहुँचको आधारमा सेवा प्रदान गर्ने गरिएको , फार्मेसीमा सहज रुपमा औषधी प्राप्त गर्न नसकेको, मितव्ययी व्यवहार नभएको जस्ता गुनासाहरु विरामी तथा तिनका आफन्तहरुले गरेका छन् । आमालाई मुखको क्यान्सर भएर उपचार गर्न आएकी गुल्मीकी राधिका पाण्डेले उपचारमा ढिलाई हुने र रोग पत्ता लाग्दा सम्म विरामी नै नरहने अवस्था भोगेको सुनाइन् । यहाँका अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाई छ । क्यान्सरबाट पीडित विरामी र तिनका आफन्तहरुले क्यान्सर अस्पताललाई नै क्यान्सर लाएको भनि पटक पटक गुनासो गरेपछि अधिकारकर्मी मीना खरेलको अगुवाईमा जिल्लास्थित क्रियाशिल संघसंस्थाको बैठक बसी सबैको ध्यान अस्पतालमा परेको हो । आदर्श नारी विकास केन्द्रको संस्थापक तथा आदर्श गृह नेपालका अध्यक्ष मीना खरेलले अस्पतालभित्रको व्यतिथिलाई चिर्न अधिकारकर्मी र सामाजिक अभियन्ताको ध्यान अस्पतालमा परेको बताउनुभयो । “मैले मेरै परिवारका ३ जना सदस्य क्यान्सरबाट गुमाए उहाँले भन्नुभयो, अस्पताल प्रशासनले आ आफ्नो पदीय जिम्मेवारीलाई बहन गरि विरामीहरुको विषयमा थप संवेदनशीलता अपनाउनुपर्छ । ” क्यान्सरका कारण विरामी संगै तिनका आफन्त बढी मात्रामा मानसिक, सामाजिक र आर्थिक समस्यामा पर्ने गरेकाले यसतर्फ सबै पक्षको सहयोग र समन्वयको जरुरी भएको खरेलको भनाई छ ।

क्यान्सर विजेता बन्दना खाँडले यसको उपचार पद्धती लामो र खर्चिलो भएकाले विरामीको सम्मानमा राज्य नै चुकेको दुखेसो गर्नुभयो । विरामीलाई गर्ने व्यवहार सुधार भइदिए मात्र आधा रोग निको हुने उहाँको तर्क छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले स्वास्थय क्षेत्रमा देखिएको बेतिथिका विरुद्ध आफु सचेत भएको भन्दै यसको समाधानका स्थानीय तवरबाट प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो । वाग्मती प्र्रदेशका माननीय माया श्रेष्ठले क्यान्सर पीडितका समस्याका सवालमा सदनमा कुरा उठाउने भन्दै अस्पतालभित्रको व्यतिथिका विरुद्ध आफ्नो साथ रहेको बताउनुभयो ।

अस्पतालमा प्राविधिक भन्दा बढी अन्य विधाका कर्मचारी हावी भएको , राजनीतिक प्रभाव बढी रहेको चिकित्सकले भन्दा होटलवाला र एजेन्टको कुरामा विश्वास गर्ने परिपाटी भएकाले चुनौती थपिएको नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष चिकित्सक अनिलविक्रम कार्कीले बताउनुभयो ।

कार्यक्रममा चितवनका प्रहरी उपरिक्षक राजन लिम्बु, नेपाल वार एशोशियनका चितवनका अध्यक्ष फुलमाया रानाभाट, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, आदर्श नारी विकास केन्द्रका अध्यक्ष उषा खरेल सुवेदी, मन्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मन्जु खाँड, पत्रकार शान्ता अधिकारी, आफन्त नेपालका अनिता खड्का, चेली नेपालका केमिका घिमिरे, पुतली बजार महिला समुहका अध्यक्ष सन्जु तन्डुकार, चितवन सिटि मर्सि लायन्स क्लबका अध्यक्ष पवित्रा गौतम आचार्य, महिला ससक्तिकरण तथा परिवर्तनशील संस्था नेपाल, सामुदायिक सेवा केन्द्र नारायणगढ, सुभेच्छा सन्देश साप्ताहिक,आषिश सामाजिक सेवा नेपाल, लगायतको संस्थागत सक्रिय सहभागिता रहेको थियो । “सबै महिला तथा बालिकाका लागिःअधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ ११५ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनाइदैछ ।

सेयर गर्नुहोस्