निजी विद्यालयमा कार्यरत शिक्षकको विशेष अनुरोध

रमेश पराजुली: शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, यो त पुस्ता निर्माण गर्ने मूल आधार हो। समाज रुपान्तरणको जग हो। हाम्रो समाजको मेरुदण्ड भनेकै विद्यालय हो र त्यसको आत्मा भनेका शिक्षकहरु हुन् । तर आज, हामी एउटा गम्भीर मोडमा उभिएका छौं – जहाँ सामुदायिक विद्यालयका कक्षा कोठा क्रमशः सुनसान बन्दै गएका छन्। आन्दोलनको लहर यति तीव्र छ कि विद्यार्थीहरू शिक्षकको प्रतिक्षामा बसेका छन्, तर उनीहरूका आदरणीय गुरुहरू सडकमा छन्। म एकजना निजी विद्यालयमा कार्यरत शिक्षकको हैसियतले यो पत्र लेख्दै छु,मलाई थाहा छ, तपाईँहरूका मागहरू उचित छन्। कम सुविधा, थोरै तलब, निजामती कर्मचारी र शिक्षक बिचको विभेद,बढ्दो जिम्मेवारी र राज्यको बेवास्ता यी सबै कुराहरूले तपाईंहरूलाई आन्दोलित बनाउनु स्वभाविक हो। तर अब प्रश्न उठ्छ, के आन्दोलनकै नाममा कक्षा छोड्नु सहि हो?

बुझौं, विद्यालय रहे मात्रै जागिर रहन्छ। जागिर रहे मात्र हामीलाई आफ्ना मागहरू राख्ने, आन्दोलन गर्ने र न्याय खोज्ने अधिकार रहन्छ। यदि विद्यालयहरू नै कमजोर भए, विद्यार्थीहरू नै टाढा भए भने हामी कुन मञ्चबाट आफ्नो आवाज उठाउने? हाम्रो आन्दोलन तब मात्र दीर्घकालीनरुपमा सफल हुन्छ जब हाम्रो मुल उद्देश्य – शिक्षाको संरक्षण पनि साथमा अघि बढ्छ। आज हामी सडकमा छौं। हो, यसले सरकारलाई चेतावनी दिन सक्छ। तर हामी कक्षा कोठामा फर्कियौं भने, यसले समाजलाई सन्देश दिन्छ । शिक्षकहरू माग राख्न सक्छन्, आन्दोलन गर्न सक्छन्, तर कहिल्यै आफ्नो कर्तव्य छोड्दैनन्।

यही चेतना र दर्शनले हामीलाई अरू पेशाभन्दा पृथक र पूजनीय बनाएको हो। आजका बालबालिकाहरू भोलीका कर्णधार हुन्। उनीहरूलाई शिक्षा नदिएर हामीले कसको भविष्य निर्माण गर्छौं? आन्दोलन आवश्यक छ, तर सधैं समय, परिस्थिति र मार्गदर्शनसहित। हामीले यस्तो सन्देश दिनुपर्छ ‘हामी माग गर्छौं, तर विद्यार्थीको भविश्यलाई बर्बाद गरेर होइन।’ आन्दोलन र शिक्षण दुवैलाई सन्तुलनमा राखेर अगाडि बढ्न सकिन्छ। कक्षा भित्रबाट पनि शक्तिशाली आन्दोलन सम्भव छ – शब्दको माध्यमबाट, प्रेरणाको माध्यमबाट, सहनशीलताको माध्यमबाट। आजको सरकारले तपाईंहरूको माग नबुझून, तर भोलिका नीति–निर्माता तपाईंका शिष्य हुन सक्छन्।

उनीहरू तपाईंको कक्षामा हुर्केका होलान्। तपाईंहरूको त्याग, धैर्यता र इमानदारी सम्झेर उनीहरूले नीति परिवर्तन गर्न सक्छन्। त्यसैले, कक्षामा फर्कनु, विद्यार्थीलाई नछोड्नु – यही हो दीर्घकालीन रणनीति। शिक्षकको सम्मान आन्दोलनबाट होइन, कर्मबाट प्राप्त हुन्छ। विद्यार्थीको मुहारमा देखिने मुस्कान, बुझाइको खुसी, र जीवनमा प्रगति हेर्दा जुन आत्मसन्तुष्टि मिल्छ, त्यो कुनै नाराले दिन सक्दैन। तपाईंहरूलाई समाजले आदरणीय त तब ठान्छ, जब तपाईंहरूले आफ्नो कर्तव्य त्याग नगरी संघर्ष गर्नुहुन्छ। यो एक अपूर्व उदाहरण बन्न जान्छ – शिक्षकको। आन्दोलनमा रहनुभएको तपाईं शिक्षक साथीहरुलाई यो भन्न चाहन्छु ,परिस्थिति सधैं एकै जस्तो रहँदैन। कहिलेकाहीँ एक कदम पछाडि हट्नु नै धेरै अगाडि बढ्ने अवसर बन्न सक्छ। कक्षा फर्केर, शिक्षा दिनु नै अहिलेको सबैभन्दा बलियो सन्देश बन्न सक्छ।

समाजले तपाईंहरूलाई अझै बढी सम्मानका साथ सम्झनेछ। भोलिका विद्यार्थीहरू, अभिभावकहरू, र यहाँसम्म कि नेताहरूले पनि भन्नेछन् – “हाम्रा गुरुहरू यस्ता थिए, जसले कहिल्यै शिक्षाको धर्म त्यागेनन् ।” अन्तमा, म फेरि आग्रह गर्छु– आन्दोलनलाई कर्तव्यसँग सन्तुलनमा राखौं। विद्यालय र विद्यार्थीको भविष्यलाई बलिदान दिने आन्दोलन दीर्घकालीनरूपमा सफल हुँदैन। हामीले देखाउनुपर्छ, शिक्षक भनेको शिक्षा मात्र होइन, चेतना, समर्पण र अनुशासनको मूर्तरूप हो। कक्षा कोठामा फर्कौं। शिक्षाको दीप फेरि बालौं। अनि सँगसँगै माग पनि राखौं, न्यायका लागि आवाज पनि उठाऔं। तर त्यस आवाजमा विद्यार्थीको भविष्य नडगमगाओस्। जय शिक्षा। जय शिक्षक। जय नेपाल।

सेयर गर्नुहोस्