चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बिमा बोर्डले पचास करोड रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको अस्पतालले जानकारी दिएको छ ।
आर्थिक अभावका कारण बिमा रकम मार्फत दिइने सेवाहरु हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । ‘हालसम्मको पचास करोड रुपैयाँ बढी बिमा रकम हामीले पाएका छैनौँ,’ बिहीबार भरतपुर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेण्डेण्ट पौडेलले भन्नुभयो ‘हामीले नियमित सेवा दिन समस्या भइसकेको छ ।’ उहाँका अनुसार अस्पतालले बिमा बापत प्रदान गर्दै आएको २४ प्रकारका प्रयोगशाला सेवा हटाइएको छ । बिमाको रकम अझै केही समय रोकिएमा अस्पतालले औषधि दिन नसक्ने उहाँले बताउनुभयो ।
अहिलेसम्म अस्पताल विकास समितिको बजेटबाट खर्च मिलान गरिएको छ । अस्पताल विकास समितिको कोषमा पनि बजेट सकिँदै गएको बताउँदै डा. पौडेलले सरकारले रकम उपलब्ध नगराए सेवाहरु रोक्नुको विकल्प नहुने बताउनुभयो । उहाँका अनुसार अस्पतालले फागुन महिनादेखिको औषधि तथा अस्पताल जन्य उपकरण खरिद गरेको पैसा तिर्न बाँकी छ । औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी नपाएपछि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उहाँले बताउनुभयो ।
‘हामीले फागुन महिनादेखि औषधि खरिद गर्ने पाटीहरुलाई पेमेन्ट गर्न सकेका छैनौँ । हामीसँग औषधि तथा अस्पतालजन्य उपकरणहरु सकिरहन्छ,’ उहाँले भन्नुभयो ‘पेमेन्ट नभएपछि उहाँहरुले रोक्छु भन्नुभएको छ ।’ औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई अस्पतालले १२ करोड रुपैयाँ हाराहारीमा तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । बिमा बोर्डले असार महिनापछि ३७ करोड हाराहारीमा भुक्तानी गरेको थियो । त्यसयता थपिँदै पचास करोड बढी पुगेको हो ।
अस्पतालले बिमामार्फत प्रत्येक महिना छ करोड रुपैयाँ बराबरको सेवा दिँदै आएको छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको अस्पतालका अध्यक्ष राजु पौडेलले बताउनुभयो । ‘अधिकांश हामीले किनेर खर्च गर्नुपरेको अवस्था छ, अध्यक्ष पौडेलले भन्नुभयो ‘अस्पतालले कहिलेसम्म सामान किनेर उपचार गर्न सक्ला र ?’ भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिमा गरेर एक हजार दुई सय पचास कर्मचारी छन् ।
विकास समितिका आठ सय कर्मचारीलाई तलब खुवाउनमात्रै मासिक साढे चार करोड रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको अध्यक्ष पौडेलले बताउनुभयो । ‘हामीले स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य बिमा बोर्डका अध्यक्षलाई पनि पटक पटक भेटेर भनेका छौँ,’ उहाँले भन्नुभयो ‘तत्काल दिने कुनै आश्वासन पाएका छैनौँ ।’
बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भैरहेको छ । ‘अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका छन् । दैनिक एक हजार पाँच सय बिरामी बिमा अन्तरगतका हुन्छन्,’ बिमा शाखा प्रमुख लिलाधर पौडेलले भन्नुभयो ‘साउनदेखि हालसम्म इसिजीमा मात्र एक करोड रुपैयाँ बढी खर्च भएको छ ।’ बिमाको सेवा नरोक्ने हो भने अस्पताललाई भार अझ थपिँदै जान्छ । बिमा रकम भुक्तानी नभएपछि देशका कतिपय अस्पतालले बिमाको सेवा नै बन्द गरेका छन् । यही अवस्थामा गए यहाँ पनि हटाउनुपर्ने बेला आउने अस्पतालले बताएको छ ।
भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो । दश लाख ३५ हजार एक सय १५ पटक सेवा लिएका थिए ।
भरतपुर अस्पतालमा एक दर्जन बढी जिल्लाका बिमाका बिरामी उपचारका लागि आउने गर्दछन् । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र गोरखा लगायतका जिल्लाबाट पनि बिमाको उपचार गर्न बिरामीहरु आउने गरेका छन् ।