मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए । उनले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताए ।

मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताए ।उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताए ।

‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने ।

उनले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताए ।

गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुशी व्यक्तगर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफुहरु तयार रहेको बताए ।

सेयर गर्नुहोस्