परिणाममुखी बजेट ल्याउनुपर्ने पूर्वअर्थमन्त्रीको जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माणको अन्तिम तयारीमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थ मन्त्रालयले  राजधानीमा आयोजना गरेको छलफलमा पूर्व अर्थमन्त्रीहरूले खर्च नियन्त्रण,यथार्थपरक राजस्व लक्ष्य, निजी क्षेत्रको मनोबल वृद्धि, उत्पादनमुखी अर्थतन्त्र,आयोजना व्यवस्थापन तथा संरचनात्मक सुधारबारे सुझाव दिएका हुन् ।
पूर्व अर्थमन्त्रीहरूले तयारी बिनाका टुक्रे आयोजना रोक्नुपर्ने, सरकारी खर्च कटौती गर्नुपर्ने र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले राष्ट्रिय गौरवका आयोजना सीमित गर्न,कर प्रणाली सुधार गर्न,कृषि तथा पर्यटनमा उत्पादनमुखी लगानी बढाउन,निजी क्षेत्रलाई विश्वासमा लिन तथा वित्तीय अनुशासन कायम गर्न सुझाव दिएको बताइन्छ ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व लक्ष्य यथार्थपरक बनाउन सुझाव दिए । यसअघिका अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका आयोजना रोक्न आग्रह गरेका छन् । त्यसैगरी वर्षमान पुनले पर्यटन पूर्वाधार र हिल स्टेसन विकासमा जोड दिए भने जनार्दन शर्माले संघीयता कार्यान्वयन र खर्च कटौतीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
तर अर्थमन्त्री डा. वाग्लेले सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रश्न उठाउने विपक्षी दललाई अस्ति दिएको कटाक्षपूर्ण जवाफले पूर्व अर्थमन्त्रीहरुको सुझाव कार्यान्वयन हुनेमा धेरैको आशंका रहेका बताए । उनले अस्ति संसदमा बोल्दै आफ्नो पार्टी रास्वपाले पाँच वर्षका लागि जनादेश पाएकाले विपक्षीले चाहेअनुसार कार्यक्रम अनुमोदन गराउन अर्को निर्वाचन कुर्नुपर्ने बताएका थिए ।

निर्वाचनमा जनताले रास्वपाको वाचापत्र हेरेर भोट हालेकाले त्यसैको आधारमा सरकारले नीति तथा कार्यक्रम र बजेट बनाएको उनको जिकिर थियो । उनको भनाई थियो, ‘जनताबाट अनुमोदित भाषा,शैली,दर्शन,सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो । किनकी हामीले निर्वाचन लड्नुभन्दा अगाडि रुपान्तरणका सय आधारहरु भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्नेकुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफनै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला ।’

छलफलमा काँग्रेसका डा।प्रकाशशरण महत, एमालेका युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे, तत्कालीन माओवादी केन्द्रका वर्षमान पुन र जनार्दन शर्मा, राप्रपाका प्रकाशचन्द्र लोहनी, अन्तरिम सरकारका रामेश्वर खनाल, खिलराज रेग्मी नेतृत्व सरकाका शंकरप्रसाद कोइराला उपस्थित थिए ।

सेयर गर्नुहोस्