फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरामा ल्याउन हरी भट्टराई सर्वोत्कृष्ट प्रहरी घोषित

चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेशको मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी चितवनमा कार्यरत प्रहरी निरीक्षक हरी प्रसाद भट्टराई घोषित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई हाल चितवन जिल्ला प्रहरी कार्यलयमा कार्यरत भट्टराईले विभिन्न मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बागमती प्रदेश प्रहरीले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

भट्टराईले गत असोज २१ गते भरतपुर–५ स्थित कल्याणपुरमा पैदल यात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाई भागेको ‘हिट एण्ड रन’का अभियुक्त गोरखा नगरपालिका–१३ बस्ने २७ वर्षीय सुनिल गुरुङलाई पक्राउ गर्न सफल भएका थिए । मंसिर महिनामा जिल्लाको विभिन्न स्थानबाट लागुऔषध ट्रामाडोल २७०७ क्याप्सुल, गाँजा नौ किलो १६१ ग्राम, खैरो हिरोइन १५३.१५४ ग्रामसहित ४८ जना व्यक्तिलाई नियन्त्रणमा लिन भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले लेनदेन मुद्धामा एक करोड ६४ लाख रुपैयाँ बिगो रकम कायम भई फरार रहेकी प्रतिवादी तथा चेक अनादर मुद्धामा १५ लाख रुपैयाँ बिगो रकम कायम भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन भूमिका खेलेका थिए ।

उनले सम्पादन गरेको कार्यको उच्च मूल्यांकन गरी अरु प्रहरी कर्मचारीलाई समेत प्रोत्साहन गर्न निज भट्टराईलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले जानकारी दिए । महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ अनुसार भट्टराईलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको पौडेलले बताए ।

सेयर गर्नुहोस्