‘हिट एण्ड रन’ नियन्त्रणमा चितवन प्रहरी सक्रिय

पछिल्लो समय विभिन्न सवारी साधनले गराउने ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारी साधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे व्यापक जनचेतना आवश्यक देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार, हिट एण्ड रन गर्नु चालकको गम्भीर लापरवाही हो । हिट एण्ड रन गर्ने घटनालाई प्रहरीले कहिल्यै नछाड्ने र जसरी पनि पत्ता लगाई कानुनी दायरामा ल्याउने गर्छ । उहाँले भन्नुभयो, “हिट एण्ड रनका केस प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । हिट एण्ड रन गरेर कोही चालक उम्कन पाएको छैन, कानुनी कारबाही अवश्य भर्नै पर्छ ।”

एसपी पुरीका अनुसार साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् । उहाँले भन्नुभयो, “चितवन देशको मध्य भागमा पर्ने शहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौं प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी छ ।” सवारी साधनको आवागमन धेरै भएकै कारण दुर्घटनाका घटना पनि तुलनात्मक रूपमा बढी हुने उहाँले बताउनुभयो । प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र (मेकानिजम) बनाएर काम गर्दै आएको छ । उहाँले थप्नुभयो, “हाइवेमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडक खण्डमा पनि यस्ता घटना हुने गरेका छन् ।

साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।” उहाँले केही समयअघिको एक हिट एण्ड रनको घटना ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत दिनुभयो । दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।” यदि दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई शरण लिनुपर्ने उहाँको सुझाव छ । चालकले आफ्नो कमजोरी वा गल्ती स्पष्ट रूपमा प्रहरीलाई बताउनुपर्नेमा उहाँले जोड दिनुभयो । दुर्घटनाको जानकारी तत्काल प्रहरीलाई गराएमा समस्या कम हुने, घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रियासमेत सहज हुने उहाँले बताउनुभयो । हिट एण्ड रन गरेर फरार भएमा झन् कडा कारबाही हुन सक्ने कुरा पनि उहाँले स्पष्ट पार्नुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको एसपी पुरीले बताउनुभयो ।

सेयर गर्नुहोस्